द ल्यारी स्टोरी (The Larry Story)

एक दिन दुइ दिन गर्दै गांउबाट फर्केको पनि निकै भएछ । जानु भन्दा अघि आफैलाइ वाचा गरेको थिए गांउमा एउटा कथा लेख्छु । शहरिया बानी, गांउलाइ सानो आंक्ने । सजिलै जित्न सकिन्छ भन्ने । शहर बसुन्जेल कथाको एउटा क्यारेक्टरको बारेमा सोच्न नसक्ने तर गांउमा पुरै कथा भेटिन्छ भन्ने कन्फिडेन्स । या शायद भनौं शहरिया कायरता । शहरमा केहि गर्न नसकेको इन्फिरीयरिटी कम्प्लेक्सलाइ गांउमा मेटाउन खोज्ने प्रयास ।

आफ्नो गांउ जाने अवसर जुरेको पनि निकै अन्तरालमा पो रहेछ । दुइ चार वर्ष मात्र भन्ठानेको त, एक दशक भैसकेको रहेछ । एक दशक… झण्डै एक कालखण्ड । धेरै परिवर्तन भैसकेको होला, शायद त्यहां चिन्ने कोही नहोला, अझ म आफैले कसलाइ पो चिनुला र भन्ने डर ।

तर अचम्म, परिवर्तन केही देखिएन ।  परिवर्तनको नाममा चोकमा केहि पसल थपिएछन् । प्लास्टिकका बोतलमा सिलबन्दी भएर नजीकैको शहरबाट ल्याइएको रक्सी बेच्ने तीन चारवटा टहरा बढेछन् । विकास भएछ । लक्ष्मीप्रसाद देवकोटा हुंदा हुन त ‘सुधारको नाममा उधार’ भनेर भन्थे होलान । तर लक्ष्मीप्रसाद र तिनका फिलोसोफी पनि मदिराको अगाडी टिक्न सक्ने देखिएनन् । मदिराको स्ट्रेन्थ बढी नै हुंदो हो ।

अझ गांउमा डेयरी पनि थपिएको भेटियो । दश वर्ष अघि त्यही गांउमा केही ग्वालाले घरैमा दुध ल्याइदिन्थे, अब त्यही दुधमा पानी मिसाएर डेयरीवालाले बेच्छ । कारोबार बढेछ । विकास भएछ ।

त्यही टहराको पंक्तिमा एउटा अर्को टहरा । सबैले बिहानै पसल खोल्छन् तर त्यो पसल झण्डै नौ बजेमात्र खुल्छ । मेरो पानवाला । “अर्काको जागिर हो र ? आफ्नो धन्दा हो नि,” उ भन्छ, “के को हतार ?” तर विरोधाभास छ उसको कुरामा । सांझ फर्किने बेला हतारमै हुन्छ उ । उसलाइ पहिलो राउण्डमा आउने मदिराप्रेमीले मात्र भेट्न पाउछन् । पहिलो राउण्डमा मदिरापान गर्नेहरु आफ्नो मुखबाट गन्ध हटाउने प्रयासमा उसैकहां पान खान्छन् । दोस्रो राउण्डका मदिराप्रेमीहरु आउन्जेल उ गायब भैसक्छ । शायद घरतिर ।

ल्यारी मदिराप्रेमीहरुसंग धेरै कुरा गर्न रुचाउदैन । सीधै जवाफ फर्काउछ । तर सबै उसका कुरा सुनेर  उसको सेन्स अफ ह्युमरको तारीफ गर्छन् । “मलाइ यस्ता मान्छे मन पर्दैनन् । जंड्याहाहरु,” उसको बोलीमा कत्तै पनि यिनका लागि इज्जत छैन । फेरि विरोधाभस । उ रक्सी खांदै नखाने नि होइन । न्यू योर्कबाट काठमांडौ फर्किदा उसलाइ यहांको पानी मन पर्दैनथ्यो । कार्ल्सबर्ग र ट्युबर्गको स्वाद उसलाइ बढी मनपर्ने थियो ।

हो, हाम्रो ल्यारी अमेरिका रिटर्न्ड हो । अमेरिका गएरै उसको नाम ल्यारी भएको । जन्मिंदा त उ लालदेव थियो, र किशोरावस्था पार गरुन्जेल उ लालदेव ने रह्यो । तर ‘ल्याण्ड अफ ड्रीम्स’ अमेरिकाले उसलाइ ल्यारी बनाइदियो । लालदेवबाट ल्यारी हुन जति सजिलो, ल्यारीबाट लालदेव हुन त्यत्तिकै गार्हो भएको छ उसलाइ । नजीकैको कोसीमा बाढी आउदा तर्न गार्हो भएझैं । गांउका मान्छे उसलाइ त्यति मन पर्दैनन् । हुन पनि हो, अलिकति पनि पढेलेखेका गांउमा भेट्न सजिलो छैन । युवा वा भनौ काम गर्न सक्ने उमेरका धेरै त कतार दुबइ गइसके । बांकि पन्जाबतिर, केहीले शहरतिर जोडजाम गरे । गांउ त अब बुढापाका र महिलाहरु जम्मा हुने थलो मात्र रह्यो ।

जो त्यहां बांकि रहे, तिनीसंग ल्यारीको स्ट्याण्डर्ड मिल्दैन । ल्यारी आफू बराबरको कसैलाइ मान्न तयार पनि छैन । उसलाइ अंग्रेजी आउछ, उसका ग्राहकहरुलाइ आउदैन । उसंग भविष्यका लागि योजना पनि छ, बांकि आफ्ना परिवारजनले दुबइबाट पठाएको पैसा कसरी खर्च गर्ने मेसोमा हुन्छन् । “यो पसललाइ नै ठूलो पारम कि पसलै नयां बनाउ दाइ,” ल्यारी मलाइ सोध्छ । आखिर म शहरबाट आएको, अंग्रेजी पनि बोल्न आउने । धेरै दिनपछि ल्यारीको लागि कोही आफन्त आएझै भएको भयो । “आखिर बोर्डरको मार्केट हो, सामान किन्ने त धेरै आउलान नि,” ल्यारीलाइ मार्केट एनालिसिस पनि आउछ ।

ल्यारी न्यूयोर्कमा करिब दुइ वर्ष बसेको हो । अझ वर्ल्ड ट्रेड सेन्टरमाथि अल कायदाको आक्रमण हुंदा ल्यारी नजीकै थियो । आतंकलाइ नजीकबाट हेरेको अनुभव छ उसलाइ । “बाफ रे,” दश वर्ष बितीसक्दा पनि उ त्यो सीन भुल्न सक्दैन, “फिलीम हेरे जस्तो पो थियो त । देखेर केही सोच्न सक्ने अवस्था थिएन । केही दिनसम्म त काममा जान सकिएन ।”

दश वर्षपछि ल्यारी पनि अल कायदझै भएको छ । आफैंबाट विरक्तिएको । अमेरिकामा बसेको, कमाएको, जीवनका रंग देखेको । तर अहिले यो गांउमा । जहां अण्डरग्राउण्ड रेल होइन, बिक्रम टेम्पो गुड्छ । दुइ वर्षको अमेरिका बसाइले उसलाइ दिने कम, उसंग लिने बढी गर्यो । सपनाको नजीक पुर्यायो तर यथार्थमा ल्याउंदा झकझक्यो पनि । उसकी श्रीमती पनि उसंग कम बोल्छे । किनकी ल्यारी उसको लेभलको होइन । उ धेरै माथि छ, आफ्नै परिवारभन्दा पनि । अमेरिकाले ल्यारीलाइ आफ्नो जराबाट नै छुट्याइ दियो । आफै चलाउने गाडिको अब याद मात्र छ उसंग ।

खाना खाएर म चोकमा पुग्दा, उ मोबाइलबाट आफ्नो नवजात शिशुको फोटो देखाउछ र सोध्छ, “दाइ, आज नयां स्टाइलको पान बनाउं?”

यो गांउ, जहां स्थानिय नेताहरु भोलि आउदै नआउने हिसाबले विकासलाइ अवकाश दिएरहेका छन्,  भविष्यप्रति ल्यारीको आशा अझै मरेको छैन । उ नयां स्टाइलले पान दिदै मलाइ भन्छ, “दाइ, अमेरिका फेरी गए भने, यो फुच्चेलाइ उतै पढाउछु ।”

6 thoughts on “द ल्यारी स्टोरी (The Larry Story)

  1. ल्यारी एक आम शहरिया मान्छेको स्वरुप हो! जसलाई जसले जे भनेपनि आफ्नो सम्मानमा कुनैपनि कुरा सुन्न मनपर्दैन!

  2. त्यो ल्यारी कसरी अमेरिका पुग्यो र कसरी किन फर्केर आयो भन्ने कुरा यो कथा होस् कि वास्तविकतामा पर्नुपर्छ भन्ने हामीलाई लाइराछ।

  3. निक्कै रमाइलो लाग्यो | अलि लामो भए अझ धेरै छुटेका धागा जोडिने जस्तो लग्यो |

  4. कथाको पात्र नै भन्न सुहाउने खालको लाग्यो ल्यारी । ल्यारी एक ठाउँमा टिकेर बस्न सक्ला जस्तो लागेन, यायावर भइरहला ।
    पान पसलभन्दा ठूलो पसल नबनाओस् । के ठेगान, कहिले दिमाग सड्किन्छ र कता उड्ने हो !

  5. दुइ वर्षको अमेरिका बसाइले उसलाइ दिने कम, उसंग लिने बढी गर्यो: i like this line very much applicable to must of ppl who return back from bidesh

Leave a Reply

%d bloggers like this: