पुबुदु इफेक्ट

नेपाल वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता बनेर घर र्फकदा, एयरपोर्टमा करीब १००-१५० को भीड आफ्ना खेलाडिहरुको स्वागतार्थ भेला थिए । स्वाभाविक कुरो, आफ्नो हिरोहरुलाइ हौसला दिने प्रशंसकको कर्तव्य नै हो ।

विभिन्न नाराको बीच एउटाले आवाज लगाए, “पुबुदु दासानायकेǃ” भीड समवेत स्वरमा चिच्यायो, “जिन्दाबादǃ”

नेपाली क्रिकेटका हेड कोच पुबुदु छुट्टीमा गएकाले टीमसँग नेपाल फर्किएनन् नत्र यो नाराले उनी प्रफुल्लित हुन्थे होलान् । खेलाडिसँगै प्रशिक्षकको जयजयकार कमै देखिन्छ । तर यो नारा उनको नेपाली क्रिकेटमा गरेको योगदानको प्रशंसाको रुपमा लिन सकिन्छ ।

प्रश्न उठ्छः क्रिकेटमा कोचको के महत्व हुन्छ?

पाकिस्तानका सबैभन्दा सफल टेस्ट ब्याट्स्म्यान र पुर्वकोच जावेद मियांदाद भन्छन्, “कोचको खासै महत्व हुन्न तर टीममा एउटा रणनीति बनाउने योजनाकार, खेलाडीहरुलाइ फिडब्याक दिने र उत्प्रेणा दिने व्यक्तिको सँधै आवश्यकता हुन्छ ।”

र कोच पुबुदु दासानायके सम्भवतः यी तिनै वर्गमा फिट हुन्छन । पुबुदुले नेपाली टोलीको कमान सम्हालेपछि नेपाली क्रिकेट फरक देखिएको पक्कै हो । डिभिजन थ्रीको सफलता नेपाली क्रिकेटको अहिले सम्मकै सबैभन्दा ठूलो सफलता हो । र यसको श्रेय कमोबेस पुबुदुलाइ पनि जान्छ ।

Photo: Self
Nepal Coach Pubudu Dassanayake. Photo: Somesh Verma

बर्मुडामा पहिलो दुइ म्याचनै हार्न पुगेको नेपाली टोली तेस्रो म्याच खेल्नुअघि निक्कै दबाबमा थियो । धेरैलाइ थाहा नहोला, तर केही खेलाडिले बताए अनुसार पुरै टोलीमा कोचमात्र यस्ता व्यक्ति थिए जो अझै पनि नेपाल डिभिजन टुमा उक्लिने कुरामा विश्वस्त थिए । उनले खेलाडिहरुलाइ योजना दिए र हौस्याए पनि । परिणाम हाम्रो सामु छ ।

एउटा कोचको योगदान कस्तो हुन सक्छ भन्ने हेर्नकालागि यी उदाहरण उपयुक्त होलान् ।

२००३: नेपाल अन्डर-१९ र भारत अन्डर-१९ बीचको म्याच । किर्तिपुर क्रिकेट मैदान । नेपाली बलर प्रमोद बस्नेतले भारतीय पारीमा ५ विकेट लिए । तर अन्तिम विकेट लिने क्रममा बस्नेतको भारतीय खेलाडीसँग भनाभन भयो र उनले आफ्नो कुरा भन्नमा कुनै कन्जुस्याँइ गरेनन् । आक्रामक शैलीमा देखिएका प्रमोदले केही अपशब्द पनि बोले ।

पेवेलियन फर्किने क्रममा ५ विकेटको बधाइ खाँदै आएका प्रमोद त्यति सहज देखिएनन् । कारण एकै छिनमा थाहा भयो । टीम प्रशिक्षक रोय डायस आफ्नो खेलाडीको व्यवहारबाट खुशी थिएनन् । डायसले भर्‍याङ्ग चढ्दै गरेका प्रमोदलाइ गालि गरे, कडा शब्दमा ।

राम्रो प्रर्दर्शन गरेको खेलाडीलाइ किन गालि गरेको भन्ने प्रश्नमा डायसको जवाफ थियो, “उमेर समूहमा नै गाली गलौज सिक्यो भने त्यो खेलाडी कहिले उँभो लाग्दैन । खेलाडीको सिप विकास गर्ने समयमा यस्ता कुरा निरुत्साहित गर्नु पर्छ ।”

डायसको तर्क सम्भवतः सही थियो । प्रमोद बस्नेत बिस्तारै नेपाली क्रिकेटबाट टाढिंदै गए । तर यो पंक्तिकारको मनमा लागि रह्यो, “खेलाडीलाइ पब्लिक र अरु साथीहरुको अघि गाली नगरेर एक्लैमा सम्झाइएको भए के फरक पर्थ्यो र ?”

२०१२: विश्व टी-ट्वान्टी क्वालिफायर पछि नेपालका पुर्व कप्तान बिनोद दासलाइ टीमबाट हटाइयो । टीमबाट हटाइएको खबर बिनोदले कोच पुबुदु दासानायकेबाट थाहा पाए । बिनोदले भने, “टीममा नभएको दुख त लाग्छ नै तर पहिलो पटक कसैले एक्लैमा यो खबर सुन्न पाउदा ठिकै लाग्यो । पहिले पहिले त पत्रिका पढेर मात्र टीममा परेको नपरेको थाहा हुन्थ्यो ।”

बिनोद दास फेरि नेपालका लागि क्रिकेट खेल्छन वा खेल्दैनन् त्यो भविष्यले बताउला तर उनी अहिले राष्ट्रिय क्रिकेट एकेडेमीका कोच हुन् । अहिले पनि नेपाली क्रिकेटमा बिनोद योगदान दिँदै छन् ।

उदाहरण दिनुको उद्देश्य डायस र दासानायकेमा को राम्रो हुन् भन्ने देखाउनु नभइ अहिलेको क्रिकेट र क्रिकेटर सम्हाल्ने कला दासानायकेमा भएको दर्शाउनु मात्र हो । पुबुदु आधुनिक समयका क्रिकेट कोच हुन्, जहाँ क्रिकेटको सिप मात्र महत्वपूर्ण छैन, सिपसँगै खेलाडिको मनोदशा र मनोविज्ञानको पनि महत्व छ । यसलाइ वास्ता गरिएन भने खेलाडिबाट प्रदर्शन गराउन सजिलो छैन ।

२०११ मा भएको एसीसी टी-ट्वान्टी कपः पुबुदु दासानायके आएपछिको नेपाली टीम खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता । प्रतियोगिता अघि दासानायकेसँग नेपाली टोलीको तैयारीको बारेमा सोधखोज गर्दा उनले भनेका थिए, “मैले नेपाली ब्याट्सम्यानहरुलाइ पारम्परिक शटमात्र नखेलेर प्रयोग गर्न पछि नपर्न भनेको छु । तपाँइ नेपाली खेलाडीहरुबाट स्कुप, रिवर्स स्वीपहरुको पनि आशा गर्न सक्नु हुन्छ ।”

संयोग, पुरै प्रतियोगितामा नेपाली खेलाडीले जतिचोटी यी शट प्रहार गरे बल कहिले ब्याटमा परेन । एक अपवाद संजम रेग्मी रहे जस्ले एक पटक स्कुप गर्दा बल र ब्याटको भेंट भयो । यतिसम्म कि केही पत्रकारहरुले, स्कुप गर्दा ब्याटमा बल कनेक्ट नहुने शटलाइ पुबुदुस्कुप को संज्ञा दिए ।

तर पुबुदुको भनाइ थियो यस्ता गैरपारम्परिक शटले रनमात्र बनाउने होइन, ब्याट्स्म्यानको मनोबल बढाउने र बलरको लय बिगार्ने काम पनि गर्छ । पछिल्ला प्रतियोगितामा आएर त्यो प्रयोगको अर्थ पनि देखियो जब ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकर जस्ता टेक्निकल रुपमा राम्रा ब्याट्सम्यान पनि यस्ता शट खेलेर रन बनाउन थाले ।

२०१० को अन्त्यतिर रोय डायसको बहिर्गमनपछि नेपाललाइ नयाँ र आधुनिक कोचको आवश्यकता थियो । नेपालसँग ५ वटा नाम थियो कोच रोज्न, त्यसमा एक पुबुदु थिए ।

क्रिकेट संघका पुर्व अध्यक्ष र पुबुदुलाइ नेपाल भित्राउने विनयराज पाण्डे भन्छन्, “मैले क्यानाडा क्रिकेट बोर्डको अध्यक्षलाइ भेट्दा उनले पुबुदुको निक्कै प्रसंशा गरेका थिए । उनको भनाइ थियो, क्यानाडाको टीम विश्वकप पुग्नुको प्रमुख कारणनै दासानायके हुन् ।”

पुबुदुको क्यानाडा क्रिकेटमा इमेज पनि ‘गो गेटर’ को रहेको छ । पाण्डे भन्छन्, “पहिलो भेटमानै पुबुदु अलि मृदुभाषी तर स्ट्रेट फरवार्ड लागे । अहिले हेर्दा मैले राम्रो निर्णय लिए जस्तो लाग्छ ।”

खेलाडीहरुका अनुसार पुबुदु दाइ जस्ता व्यक्ति हुन, जोसँग मनका कुरा राख्न पनि सकिन्छ र गुनासो पनि पोख्न सकिन्छ । अहिलेसम्म नेपाली क्रिकेटमा यस्ता प्रशिक्षक देखिएका थिएनन् । खेलाडिहरु भन्छन्, “पुबुदु सर हाम्रो कुरा सुन्नुहुन्छ । र सकेसम्म हामीलाइ सहयोग गर्नुहुन्छ ।”

नेपाली कप्तान पारस खड्काको क्यानाडामा खेल्ने मेसो मिलाउनु होस वा शक्ति गौचनको इण्डियन प्रिमियर लिग टीम राजस्थान रोयल्समा ट्रायल, वा चन्द्र सावद र अमृत भट्टराइको श्रीलंकाको लिगमा खेल्ने बन्दोबस्त, प्रमुख श्रेय पुबुदु दासानायके लाइ नै जान्छ । भन्नु नपर्ला यी खेलाडिको विदेशी अनुभवले नेपालको पछिल्लो सफलतामा कति योगदान छ । यी प्रयासले नेपाली क्रिकेट टीम आफूलाइ परिवार भन्न रुचाउन थालेको छ । र खेलाडिहरु एक अर्काको प्रदर्शनमा रमाएको देखिन थालेको छ । यसलाइ पुबुदु इफेक्ट नै भन्नु उपयुक्त होला ।

हालैमा नेपाली क्रिकेटसँग आफ्नो करार नवीकरण गर्दा दासानायकेको भनाइ थियो, “नेपाल डिभिजन थ्रीबाट उक्लिएन भने म यहा“ रहनुको औचित्य हुँदैन ।”

टीम नेपालले दासानायके यहाँ रहनुको औचित्य देखाइ दिएको छ । क्रिकेट प्रेमीहरुको आशा रहला कि पुबुदु इफेक्टले निरन्तरता पाओस ।

बैशाख २८ गते कान्तिपुर कोसेलीमा प्रकाशित

One thought on “पुबुदु इफेक्ट

Leave a Reply

%d bloggers like this: